मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने तराई भूभागमा आंशिक बदली रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।

यस्तै, आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहने तथा अन्य भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

रातिको समयमा कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा कोशी प्रदेशको तराई क्षेत्रसहित बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

महाशाखाले मेघगर्जन, चट्याङ्ग र वर्षाका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस