काठमाडौँ । हालै पाकिस्तान र भारतमा विकसित भएका सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले त्यहाँ रहेका नेपाली नागरिक, विशेषगरी विद्यार्थीहरू, अभिभावक तथा अन्य यात्रुहरूलाई सचेत रहन आग्रह गरेको छ।
परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ कि पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाप्रति सरकार पूर्णरूपमा सजग रहेको छ र इस्लामावादस्थित नेपाली दूतावासमार्फत उनीहरूसँग निरन्तर सम्पर्कमा रहिरहेको जानकारी दिइएको छ। कुनै आपतकालीन अवस्थामा तत्काल सहयोग आवश्यक परेमा दूतावासमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।
यता, भारतमा रहेका नेपालीहरूका लागि पनि नयाँ सन्देश जारी गर्दै नयाँदिल्लीस्थित नेपाली दूतावासले सबैलाई सतर्कता अपनाउन र सुरक्षित रहन विशेष अनुरोध गरेको छ।
जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि सुरक्षा संवेदनशीलता बढेको उल्लेख गर्दै दूतावासले आवश्यक सतर्कता अपनाउन सुझाव दिएको हो। साथै, भारत सरकारका आधिकारिक निकायहरूले जारी गरेका सुरक्षा निर्देशहरूको पालना गर्न आग्रह गर्दै नेपाली दूतावास तथा कोलकातास्थित महावाणिज्यदूतावासमा सम्पर्कमा रहन पनि अनुरोध गरिएको छ।
सरकारले विदेशमा रहेका नेपालीहरूको हित र सुरक्षालाई उच्च प्राथमिकता दिँदै यस्ता अप्ठ्यारा घडीमा सशक्त कूटनीतिक संजालमार्फत आवश्यक कदम चालिरहेको स्पष्ट पारेको छ।
प्रतिक्रिया दिनुहोस