विवेक देवकोटा
दाङ । त्रिभुवननगर जेसीजले प्रत्येक वर्षझैँ आयोजना गर्ने जेसीज सप्ताह–२०८२ को उद्घाटन कार्यक्रम आज नारायणपुरस्थित मानव कल्याण समाजमा विविध सामाजिक सेवा गतिविधिमार्फत सम्पन्न भएको छ ।
उद्घाटनकाे अवसरमा संस्थाले सेवा घरमा आश्रितहरूसँग स्नेहपूर्वक समय बिताउँदै भोजन सेवा तथा सामग्री सहयोग प्रदान गर्दै समाजसेवामार्फत सप्ताहको औपचारिक शुरुवात गर्यो ।
कार्यक्रम त्रिभुवननगर जेसीज २०२५ का अध्यक्ष टंकबहादुर रावतको अध्यक्षतामा सम्पन्न भयो । प्रमुख अतिथिको आसनबाट बाेल्दै लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरीले जेसीजले युवाहरूलाई नेतृत्व, सामाजिक चेतना र उत्तरदायित्वबोधका लागि प्रेरित गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्य गरिरहेको भन्दै प्रशंसा गरिन् ।
उनले भनिन्, “जेसीजजस्ता संस्थाहरूले युवालाई सिर्जनशील र उत्तरदायी बनाउँदै समाजमा समर्पण र सहानुभूतिको सन्देश फैलाइरहेका छन् । मानव सेवा, आत्मीयता र सामाजिक दायित्वबोधले मात्रै समृद्ध समाजको परिकल्पना सम्भव हुन्छ। सरकार यस्ता अभियानसँग सहकार्य गर्न सधैं तत्पर छ।”
अध्यक्ष रावतले जेसीज सप्ताहलाई समाजसेवाबाट आरम्भ गर्नु संस्थाको आदर्श र दर्शनसँग मेल खाने कार्य भएको बताउँदै यस्तो कार्यले युवामा नैतिक मूल्य, जिम्मेवारी र सेवा भावनाको सन्देश दिने विश्वास व्यक्त गरे।
उक्त अवसरमा त्रिभुवननगर जेसीजको वार्षिक क्यालेन्डर २०८२ को पनि औपचारिक विमोचन गरियाे । समारोहमा नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल बस्नेत, लमही जेसीज अध्यक्ष रामदीन चौधरी, तुलसीपुर जेसीज अध्यक्ष सन्दीप भुसाल, दाङ महिला जेसीजकी कार्यवाहक अध्यक्ष लक्ष्मी घमाल, अप्टिमिस्ट क्लव अफ घोराही अध्यक्ष निरञ्जन गहतराज, प्रेस चौतारी नेपाल दाङ शाखाका कोषाध्यक्ष चन्द्रप्रकाश नेपाली, प्रेस सेन्टर नेपालका जीवन राेका, त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष तथा २०२५ का आन्तरिक लेखा परीक्षण समिति संयोजक दीपक शर्मा र मुकेश्वर शर्मासहितको उल्लेखनीय उपस्थिति रहेको थियो ।
मूल संयोजक बाबुराम पाण्डेले सप्ताहका उद्देश्य, कार्यक्रमहरू र भावनात्मक सन्देशबारे जानकारी गराएका थिए भने कार्यक्रम सञ्चालन महासचिव कृष्णदेव थापाले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस