काठमाडौँ । नेपालमा अनलाइन (साइबर) हिंसाको समस्या बढ्दै गइरहेको छ, जसको विशेष असर बालबालिका र महिलामा देखिएको छ।
सुरक्षित इन्टरनेट दिवस २०२५ को अवसरमा भ्वाइस अफ चिल्ड्रेन र इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एन्ड टेलिभिजन (आइवर्ट) द्वारा आयोजित एक कार्यक्रममा विभिन्न निकायका प्रतिनिधिहरूले साइबर हिंसाको गम्भीरता र नियन्त्रणका उपायबारे आफ्नो धारणा व्यक्त गरे।
महिला आयोगको पहल
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीका अनुसार महिला र किशोरीहरूविरुद्ध हुने साइबर हिंसाका उजुरीहरू आयोगमा नियमित रूपमा प्राप्त भइरहेका छन् ।
आयोगले साइबर ब्युरोसँग समन्वय गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रयास गरिरहेको छ । उनले प्रविधिको सकारात्मक उपयोगलाई बढावा दिनु आवश्यक रहेको बताए तापनि यसको दुरुपयोगले समाजमा गम्भीर असर पार्ने भएकाले विद्यालय र समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।
बालबालिका विशेष जोखिममा
राष्ट्रिय बालअधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले साइबर हिंसाको सिकारमा बालबालिका पर्ने क्रम बढिरहेको बताए । उनले इन्टरनेटको प्रयोग नै नगर भन्न नसकिने भएकाले यसको सुरक्षित प्रयोगका उपाय सिकाउनु अपरिहार्य रहेको उल्लेख गरे ।
भ्वाइस अफ चिल्ड्रेनका कार्यकारी निर्देशक कृष्णकुमार थापाले प्रस्तुत गरेको तथ्याङ्क अनुसार अनलाइन हिंसामा बालबालिकासमेत परिरहेको प्रमाण भेटिएको छ ।
सन् २०२३ मा कोशी र बागमती प्रदेशमा गरिएको एक सर्वेक्षणमा ५१४ जना बालबालिका र उनीहरूका परिवारहरूसँग गरिएको अध्ययनले बालबालिका अनलाइन हिंसाको जालोमा फसिरहेको देखाएको छ ।
उक्त सर्वेक्षण अनुसार १३ देखि १८ वर्ष उमेर समूहका ९७ प्रतिशत बालबालिका इन्टरनेटको पहुँचमा छन् । जसमध्ये ३८.६० प्रतिशत बालिकाहरू र ३२.३० प्रतिशत बालकहरूले सामाजिक सञ्जालमार्फत् यौनजन्य सन्देश प्राप्त गरेको तथा ३४ प्रतिशत बालबालिकाले अश्लील फोटो र भिडियो हेर्न बाध्य हुनुपरेको उल्लेख गरिएको छ।
पत्रकार र महिला पनि जोखिममा
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माका अनुसार प्रविधिको दुरुपयोगले समाजका सबै वर्ग प्रभावित भइरहेका छन्। उनले पत्रकारहरू समेत अनलाइन हिंसामा पर्न थालेको भन्दै पीडितहरूले सम्बन्धित निकायमा उजुरी गरी दोषीलाई कारबाही गराउनुपर्नेमा जोड दिइन् ।
आइवर्टका अध्यक्ष इच्छा गुरुङले महिला पत्रकारहरू पनि साइबर हिंसाबाट प्रभावित भइरहेको तथ्य औंल्याइन्। उनले समाज परिवर्तनका लागि योगदान दिँदै आएका पत्रकारहरूसमेत यस्तो हिंसाको शिकार हुन थालेको भन्दै यसको अवस्था भयावह रहेको बताइन्।
नेपाल प्रहरीको प्रयास
नेपाल प्रहरी साइबर सेल ७७ वटै जिल्लामा विस्तार गरिएको छ, जसले साइबर हिंसासम्बन्धी उजुरीहरू अनलाइनमार्फत् दर्ता गर्ने व्यवस्था मिलाएको छ।
प्रहरीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ६३५ जना बालबालिका (२३५ बालक र ३८२ बालिका) तथा ८,७४५ जना महिला अनलाइन हिंसाबाट प्रभावित भएका छन् ।
नेपालमा ८१ प्रतिशतभन्दा बढी साइबर हिंसा तथा अपराध सामाजिक सञ्जाल फेसबुकबाट हुने गरेको देखिएको छ। यही परिप्रेक्ष्यमा नेपाल प्रहरी साइबर ब्युरोले साइबर अपराध नियन्त्रण तथा जनचेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाएको छ।
सचेतनामूलक कार्यक्रम आवश्यक
साइबर हिंसाबाट जोगिन बालबालिका, अभिभावक, शिक्षक तथा समाजका सबै तहका व्यक्तिहरूलाई सचेतना कार्यक्रम आवश्यक रहेको विज्ञहरूले औंल्याएका छन् ।
सुरक्षित इन्टरनेटको प्रयोग, साइबर सुरक्षाका उपायहरू तथा अनलाइन हिंसाबाट जोगिने तरिकाबारे नियमित शिक्षा प्रदान गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस