घोराहीमा प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी सुरु : खाम भाषाको पुनर्जागरण र मगर संस्कृतिको उत्थान

दाङ । दाङको घोराहीमा पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८१ सुरु भएको छ । नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा झिंगौरामा सुरु भएको यो महोत्सव मगर समुदायको सांस्कृतिक पहिचान, पर्यटन प्रवद्र्धन र आर्थिक सम्भावनालाई उजागर गर्ने विशेष अवसर बनेको छ ।

महोत्सव उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले मगर समुदायको खाम भाषा ओझेलमा परेकोप्रति चिन्ता व्यक्त गर्दै यसको पुनर्जीवनका लागि ठोस योजना अघि सार्नु भएको छ । उहाँले भन्नुभयो, “खाम भाषाले मगर समुदायलाई एकता र पहिचान दिएको छ । अब यसलाई लेखपढको भाषा बनाएर पुस्तान्तरण गर्नु हाम्रो दायित्व हो ।”

नगरप्रमुख चौधरीका अनुसार आगामी शैक्षिक सत्रदेखि घोराही उपमहानगरमा खाम भाषाको पाठ्यक्रम लागू गरिनेछ । साथै कला, संस्कृति र भेषभुषालाई व्यवसायीकरण गरेर रोजगारी र आर्थिक विकाससँग जोड्ने उद्देश्यमा स्थानीय सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दर्जीत रोकामगरले मगर समुदायको कला, संस्कार र संस्कृति जगेर्नाका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो सांस्कृतिक धरोहरको संरक्षणले हाम्रो पहिचान जोगाउनुका साथै पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुर्याउँछ ।”

नेकपा एमाले दाङ जिल्ला उपाध्यक्ष मनोहर बुढाले संस्कृतिको संरक्षणमा स्थानीय सरकारको भूमिका निर्णायक हुने बताउनुभयो । त्यस्तै नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले नेपाली संस्कृति उत्पादन र रोजगारीसँग जोडिएको उल्लेख गर्दै यसको विकासका लागि समुदाय र राज्यबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा थारु कल्याणकारीणी सभाका अध्यक्ष अशोक चौधरी, चेम्बर अफ कमर्शका सदस्य टोपबहादुर घर्तीमगर, दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीलगायतले कला र संस्कृतिको संरक्षणमार्फत् आर्थिक विकास र पर्यटन प्रवद्र्धनमा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भयो ।

कार्यक्रमको मुख्य आकर्षण सहिद लखन थापा पार्कबाट सुरु भएको भव्य सांस्कृतिक र्याली थियो । मगर समुदायको झल्को दिने भेषभुषा, झाँक्री परम्परा र सांस्कृतिक झाँकीसहितको र्यालीले बजार परिक्रमा गर्दै महोत्सव स्थलमा प्रवेश गरेको थियो । महोत्सवमा मगर संस्कृतिका विभिन्न नृत्य, सांस्कृतिक प्रस्तुति र परम्परागत भेषभुषाले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो ।

माघ ५ देखि ११ गतेसम्म सात दिनसम्म चल्ने यो महोत्सवबाट संकलित आम्दानीलाई बहुउद्देश्यीय मगर संग्रहालय निर्माणमा लगानी गरिने आयोजकले बताएका छन् ।

संग्रहालयले मगर समुदायको समृद्ध इतिहास, कला, र परम्परालाई जोगाउने मात्र होइन, नयाँ पुस्तालाई आफ्नो जरा चिन्न प्रेरित गर्ने लक्ष्य राखेको छ । कार्यक्रम सञ्चालन संघका कार्यबाहक सचिव गणेश प्रताप पुनमगरले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस