सडक दुर्घटनामा परी एक जनाको मृत्यु चार जना घाइते
दाङ । छुट्टा छुट्टै सडक दुर्घटनामा परी दाङमा एक जनाको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन् । घोराही तुलसीपुर सडक खण्डअन्तर्गत घोराही १० झारबैरामा टिप्परले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–१९ कुटीचौरका १९ वर्षिय सुदिप बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय दाङले जानकारी दिएको छ ।
कार्यालयका सूचना अधिकारी र्इश्वर थापाका अनुसार मोटरसाईकलमा सवार तुलसीपुर–१७ का २२ वर्षिय दीपक बस्नेत घाइते भएका छन् । घोराहीबाट तुलसीपुर तर्फ जाँदै गरेको रा १ ख १२९१ नम्वरको टिप्परले सोही दिशातर्फ जाँदै गरेको रा७प ७४६ नम्वरको मोटरसार्इकललाई ठक्कर दिएको थापाले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते बुढाथोकीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको भन्दै सूचना अधिकारी थापाले अर्का घाइते बस्नेतको राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको जानकारी दिए। उनका अनुसार टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै जिल्लाको देउखुरीमा सडक दुर्घटनामा परी ३ जना घाइते भएका छन् । राप्ती गाउँपालिका वडानम्वर ४ मौरीघाटमा भएको सडक दुर्घटनामा परी ३ जना घाइते भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । कार्यालयका अनुसार दुर्घटनामा परी राप्ती गाउँपालिका वडानम्वर ४ मौरीघाटका २१ वर्षिय योगेश कुवर, सोही ठाउँका १९ वर्षिय अनमोल चौधरी र १४ वर्षिय आकाश चौधरी घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि बुटवल पठाइएको भन्दै प्रहरीले दुर्घटनाको कारण खुल्न नसकेको जनाएको छ । मोटरसाइकल एकापसमा ठोक्किएका हुन् वा ट्रकले ठक्कर दिएको हो भन्ने विषयमा एकीन हुन नसकेको जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यता दुर्घटनापछि आक्रोशित आफन्त र स्थानीयको अवरोधका कारण पूर्व पश्चिम राजमार्ग अवरुद्ध रहेको छ । राजमार्गको सिसहनिया मौरिघाट खण्ड अवरुद्ध भएको छ । यस राजमार्ग भएर गुड्ने सवारीहरुले वैकल्पिक मार्ग कालाकाटे सिसहनिया सडक प्रयोग गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस