तुलसीपुर । रुकुम झुल्नेटामा रहेको युवा जनजागरण मावि कक्षा १० मा अध्ययनरत प्रतिमा केसीले फुर्सदको समयमा सामाजिक सञ्जाल चलाउने गर्नुहुन्छ । तर, उहाँलाई यसले निम्त्याउने कानुनी जटिलताका बारेमा केही पनि थाहा थिएन । सामाजिक सञ्जालका कानुनी प्रावधान र समाजमा घटेका घटनाका बारेमा जानकारी पाएपछि अहिले उहाँले सजग भएर सामाजिक सञ्जाल चलाउने गर्नु हुन्छ ।
उहाँको भन्दा केही फरक अनुभव छ–सरस्वति मावि बागचौरमा अध्ययन गर्ने विमला पुनको । उहाँलाई साना साना घटना पनि महिला हिंसा हुन् भन्ने बारेमा थाहै थिएन । कानुनी सचेतना कार्यक्रममा त्यसका बारेमा जानकारी लिएपछि उहाँ पनि सजग हुन थाल्नु भएको छ ।
तुलसीपुर मेट्रो कलेज कानून संकायका विद्यार्थीहरुले गाउँगाउँमा पुगेर कानूनी सचेतना कार्यक्रम सञ्चालन गरिरहेका छन् । कलेजको बिएएलएलबी चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी दिपेश खड्काले सल्यान र रुकुमका विभिन्न विद्यालयमा पुगेर विद्यार्थीहरुलाई अत्यावश्यक कानूनी प्रावधानका बारेमा जानकारी गराउनु भएको छ ।
उहाँले विद्यार्थीहरुलाई बालविवाह, बाल अधिकार र साइबर कानून सम्बन्धि जानकारी दिनु भएको छ । रुकुम झुल्नेटाको युवा जनजागरण मावि,सल्यान दार्मागाउँपालिकाको मधु सहिद स्मृति मावि, शिवरथ सल्यानको सरस्वति मावि र सल्यान गोठीवनको सुर्योदय माविका करिव ५ सय विद्यार्थीहरुलाई उहाँले कानुनी सचेतना प्रदान गर्नु भएको छ ।
कलेजले केही समय अगाडी तुलसीपुर उपमहानगरपालिकाभित्रका १ हजार आमाहरुलाई कानुनी सचेतना कार्यक्रम प्रदान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस