रवि लामिछानेले प्रभावको दुरुपयोग गरे–महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भ्रष्टाचारीको संज्ञा दिनु भएको छ । प्रेस चौतारी नेपाल दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भन्नु भयो, “सहकारी ठगीमा संलग्न कम्पनीको साझेदारको हैसियतले रवि लामिछाने पनि सहकारी ठग भएको प्रमाणित हुन्छ । बिना लगानी शेयर धनी बन्न पाउने नेपालको कानुनले परिकल्पना गरेको छैन । यसरी बिना लगानी शेयर प्राप्त गर्नु भनेको स्पष्ट रूपमा भ्रष्टाचार गर्नु हो ।”

गोरखा मिडिया प्रालिमा बिना लगानी १५ प्रतिशत शेयर प्राप्त गरेको लामिछानेले स्विकार गरेको तर्क गर्दै महासचिव पोखरेलले साझेदारमा रहेका व्यक्तिहरु दोषी हुँदा उनी दोषरहित हुन नसक्ने दाबी गर्नु भयो । प्रभाव दुरुपोग गर्ने अधिकार कसैलाई नभएको बताउँदै महासचिव पोखरेलले आफूले क्लिन चिट पाइसकेको दाबी गर्दै रवि लामिछानेले भिडको प्रभावको दुरुपयोग गरिरहेको बताउनु भयो ।

“रवि लामिछानेले प्रभावको दुरुपोग गरे । भिडको आडमा आफू दोषरहित भएको भ्रम फैलाउनु भयो । प्रभाव दुरुपयोग गर्ने अधिकार कसैलाई छैन”, महासचिव पोखरेलले भन्नु भयो, “समितिको प्रतिवेदन बिपरीत आफूले क्लिन चिट पाइसकेको दाबी गर्दै रवि लामिछाने हिड्नुले उहाँ भिड आडमा आफू उम्कन खोजेको प्रमाणित हुन्छ ।”

सहकारीको शेयर सदस्य नभएका व्यक्तिलाई सहकारीले लगानी गर्नु गैरकानुनी रहेको भन्दै लामिछानेले गोरखा मिडिया प्रालिमा सहकारीको पँैसा हालेर अनुचित काम गरेको दाबी गर्नु भयो । महासचिव पोखरेलले भने, “सहकारीले आफ्नो शेयर सदस्य नभएका व्यक्तिलाई लगानी गर्नु कानुनी दृष्टिकोणले गलत हो । रविले सहकारीको सदस्य नभएको गोरखा मिडिया प्रालिमा सहकारीको पैँसा हालेर अनैतिक र गैरकानुनी काम गर्नु भएको छ ।”

प्रतिपक्षी दलले संसदिय मूल्यमान्यता माथि खिल्ली उडाएको भन्दै महासचिव पोखरेलले अस्थिरता सिर्जना गर्ने अधिकार कसैलाई नभएको बताउनु भयो । गठबन्धनमा कुनै समस्या नभएको बताउँदै महासचिव पोखरेलले लोकतन्त्रलाई कमजोर बनाउने खेल सुरु भएको बताउनु भयो । समीकरण मन नपर्नेहरुले संसदभित्रै विकल्प खोज्नुपर्ने भन्दै महासचिव पोखरेलले प्रतिपक्षी दलका प्रमुख नै वर्तमान सरकारप्रति आक्रोश जनाउँदै सडक आन्दोलनमा आधारित भ्रम फैलाउन लाग्नु गलत भएको बताउनु भयो ।

शसस्त्र युद्धलाई जनयुद्ध नभनेकै कारण माओवादी केन्द्रले संसद अवरुद्ध गर्नु गलत भएको टिप्पणी गर्दै महासचिव पोखरेलले ५ सय बढी कार्यकर्ताको हत्या गरिएको युद्धलाई एमालेले जनयुद्ध नमान्ने बताउनुभयो । माओवादीले प्रयोग गर्ने भाषा नै सर्वमान्य भाषा हुनपर्छ भन्ने माओवादी केन्द्रको मान्यतालाई सही मान्न नसकिने पोखरेलको भनाइ थियो ।

एमाले र कांग्रेसले ८४ मा एक्लै चुनाव लड्ने घोषणा गर्नुको छटपटीमा माओवादी केन्द्र रहेको बताउँदै महासचिव पोखरेलले चुनावको समयमा दलहरुले आफ्ना एजेण्डाको बहस गर्नुपर्ने बताउनुभयो । “गठबन्धन गर्दा नीतिगत बहस कमजोर बन्दोरैछ । हामीले बिगतका निर्वाचनबाट सिक्यौं । दलहरु मिल्दा बहस कमजोर हुँदो रैछ”, पोखरेलले भन्नुभयो, “आगामी निर्वाचनमा प्रमुख दुई पार्टीले लोकतान्त्रिक विकासका लागि एक्लाएक्लै निर्वाचन लड्ने निर्णय गरेका छौं । निर्वाचनको समयमा जनतासँग नीतिको बहस गर्छौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस