घर–घरमा खानेपानीको धारा आएपछि स्थानीय खुसी

शिवु खनाल
दाङ ।
लमही नगरपालिका वडानम्वर–१ का चार गाउँका बासिन्दालाई दुषित पानी खानुपर्ने तथा पानी लिन घण्टौं धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । कौडिया खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको खानेपानी आयोजना सम्पन्न भएपछि दुषित पानीका कारण गाउँमा झाडापखाला फैलने समस्याको समाधान भएको हो । आयोजनाले घर–घरै धारा जडान गरेपछि वर्षामा धमिलो पानी खानुपर्ने तथा गाग्रीमा पानी बोक्नुपर्ने बाध्यता हटेपछि गाउँले खुसी भएका छन् । आयोजना सम्पन्न भएपछि वनकट्टा, कौडिया, नर्ती र सुन्डबरी गाउँका ६ सय घरमा धारा जडान गरिएको छ । एक घर एक धारा जडान गरिएपछि वर्षौंदेखि काकाकुल जीवन गुजारेका स्थानीयलाई सहज भएको छ ।

लमही नगरपालिका वडानम्वर–१ का वडाध्यक्ष दामोदर पौडेलले हरेक नेपालीलाई शुद्ध खानेपानीको पहुँच पुर्याउने नेपाल सरकारको लक्ष्यअनुसार यस वडामा खानेपानीको सुविधा पु¥याउन सक्दा आफूलाई खुसी लागेको बताउनुभयो । साथै, अध्यक्ष पौडेलले लमही नगरपालिकाले यहाँको खानेपानी समस्या समाधानका लागि पहिलो प्राथमिकतामा राखेर सिफारिस गरेपछि लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेको जानकारी दिनुभयो । उहाँले खानेपानीको धेरै दुःख भएकोले बसाईसराई गरी गाउँ रित्तिने क्रम बढ्न थालेपछि योजना पार्नका लागि धेरै दौडधुप गर्नुपरेको पनि बताउनुभयो ।

दुई महिनामै योजना सम्पन्न गरी चौबिसै घण्टा धारामा पानी आउने गरी एक घर एक धारा वितरण गरिएको जानकारी दिनुका साथै पानीको आपूर्ति सहज भएसँगै तरकारी खेती तथा पशुपालन गरेर आम्दानी वृद्धि गर्नमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । कौडिया खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भोजराज भुसालले खानेपानी मूल टाढा भएकाले बेला–बेला बिग्रिने समस्या हुन सक्ने हुँदा मर्मत–सम्भार कोष स्थापना गरेर योजनालाई दिगो बनाउन सबैले जुट्नुपर्नेमा जोड दिनुभयो ।

शनिबार सम्पन्न भएको कौडिया खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दोस्रो साधारणसभामा संस्थाका अध्यक्ष भोजराज भुसालको अध्यक्षता तथा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका प्राविधिक गजेन्द्र कुमार वखरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथिले खानेपानीको मुहानदेखि भान्सासम्म सरसफाईमा ध्यान दिन उपभोक्तालाई आग्रह गर्नुभयो । यस्तै, कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी प्रदेशका पूर्व प्रदेशसभा सदस्य सरस्वती गौतमले जनप्रतिनिधिले जनमुखी काम गर्नुपर्ने र जनताको आवश्यकता अनुसारका योजना वितरण गर्नुपर्ने बताउनुभयो ।

लमही नगरपालिका वडानम्वर–१ सुन्डबरी निवासी तथा कौडिया खानेपानी तथा सरसफाई संस्थाका उपाध्यक्ष मेघबहादुर बुढाथोकीले कार्यक्रममा सहभागीहरुले नदी तथा खहरे खोलाको धमिलो पानी वर्षायाममा खानुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पानी परेको बेला खोला तथा नदी धमिलो हुँदा नजिक खानेपानी नहुँदा त्यही धमिलो पानी खानुपर्ने बाध्यता थियो । अहिले घरमै सफा धारा आउँदा निकै खुसी लागेको छ ।’ सोही ठाउँका निवासी विकास भुसालले गाउँमा खानेपानीको आयोजना नहुँदा दूषित पानी खानुपर्ने मात्र नभई एक जनाको काम नै पानी बोक्नुपर्ने बाध्यता सदाका लागि हटेकोमा हर्षित भएको बताउनुभयो। साथै, उहाँले विगतमा गाउँमा दुषित पानीले झाडापखाला फैलिने गरेकोमा अहिले सफा पानी पाउँदा खुसी छाएको बताउनुभयो ।

२०७६ सालमा संस्थाको स्थापना गरी खानेपानी योजना कार्यान्वयन गरेर २०७९ चैत ४ गतेदेखि खानेपानी वितरण सुरु गरेको संस्थाले हाल पाँचसय ४७ उपभोक्तालाई धारा जडान गरी खानेपानी वितरण गरेको छ। ४२ किलोमिटर क्षेत्रमा पाइपलाइन विस्तार गरेर उपभोक्ताका घरघरमा धारा जडान गर्ने लक्ष्य लिएको संस्थाको अहिले १८ हजार ३ सय धारा जडान गर्ने क्षमता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस