त्रिपुरेश्वरमा बसभित्र आगो लगाउने व्यक्तिको मृत्यु, पहिचान खुल्न बाँकी

काठमाडौँ । त्रिपुरेश्वरमा हिजाे बसभित्रै आगो लगाउने प्रयास गरेका चालकको मृत्यु भएको छ। मृत्यु भएका चालकको नाम, वतन भने अहिलेसम्म खुल्न सकेको छैन ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले घटनामा चालकको मृत्यु भएको पुष्टि गरे। ‘चालकको मृत्यु भएको छ। तर उहाँको नाम, वतन अहिलेसम्म खुलेको छैन’, उनले भने ।

मृतकको पहिचान खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको उनले बताए । ‘हामी समन्वय गर्दैछौँ’, सुवेदीले भने । यसअघि घटनामा मृत्यु भएका व्यक्ति काभ्रे पनौतीका दावा लामा भएको विवरण प्रहरीले सार्वजनिक गरेको थियो । जिल्ला प्रहरी परिसर, भद्रकालीका डीएसपी राजेश थापाले दावा लामाले बसभित्र आत्मदाह प्रयास गरेको जानकारी दिएका थिए ।

रिद्धिसिद्धि यातायातका सीईओ नेत्रविनोद लुइँटेलले पनि नेपाल प्रेससँग कुरा गर्दै घटनामा संलग्न व्यक्तिको नाम दावा लामा नै भएको बताएका थिए। तर उनको ठेगाना काभ्रे नभई ललितपुरको बागमती गाउँपालिका–७ रहेको लुइँटेलको भनाइ थियो।

ललितपुरको बागमती गाउँपालिका–७ का वडाध्यक्ष (हाल निलम्बित) होमप्रसाद बजगाईंले पनि आफ्नो वडामा दावा लामा नामका एक युवा रहेको बताए। तर उनले आफूले सम्पर्क गर्दा दावा लामा सकुशल रहेको जानकारी पाएको बताए।

‘मिडियामा बागमती–७ का दावा लामाले आत्मदाह प्रयास गरेको समाचार आएपछि मैले उनलाई फोन गरेँ। उनले फोन उठाएनन्। पछि आफन्तहरूसँग कुरा गर्दा उनी सकुशल रहेको सूचना आएको छ,’ बजगाईंले भने।

सम्पर्कमा आएका दावा लामाले आफू गाडी चालक भए पनि त्रिपुरेश्वरमा भएको घटनामा संलग्न नरहेको बताएका छन्।
‘मिडियाहरूमा मेरो नाम आइरहेको रहेछ। तर म सकुशल नै छु। आत्मदाह प्रयास गर्ने मेरो साथी अर्जुन दोङ हो,’ उनले भने।

उनका अनुसार केही समयअघि आफ्नो लाइसेन्सको रसिद हराएको थियो। उक्त रसिद अर्जुन दोङले भेटेर प्रयोग गरिरहेको हुनसक्ने उनको दाबी छ।

तर, प्रहरीले घटनामा संलग्न व्यक्तिसँग दावा लामा नाममा निकालिएको सक्कली चालक अनुमतिपत्र (लाइसेन्स) भेटिएको जनाएको छ।
यसरी घटनामा मृत्यु भएका चालकको पहिचानबारे प्रहरीको प्रारम्भिक विवरण र दावा लामाको भनाइबीच विरोधाभास देखिएको छ। प्रहरीले भने मृतकको नाम, वतन यकिन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ।

मृतकको वास्तविक पहिचान खुलेपछि मात्रै त्रिपुरेश्वर घटनामा संलग्न व्यक्तिको परिचयबारे स्पष्ट हुने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस