किशोर–किशोरीलाई कुलतबाट जोगाउन विद्यालयमै अभियान

लक्ष्मी पाेखरेल
दाङ ।
दाङको राप्ती गाउँपालिकामा क्रियाशील राप्ती प्रेस मञ्चले विद्यालयस्तरमा सञ्चालन गर्दै आएको लागुऔषध, साइबर अपराध तथा ट्राफिक सचेतना अभियानलाई निरन्तरता दिएको छ।

समाजमा बढ्दो लागुऔषध दुव्र्यसन, साइबर अपराध र सडक दुर्घटनाका घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले मञ्चले शुक्रबार राप्ती गाउँपालिका–२ लालमटियास्थित आदर्श नमुना माध्यमिक विद्यालयमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो।

राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं राप्ती गाउँपालिकाका प्रवक्ता पहलवान चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले विद्यालयस्तरमा सञ्चालन गरिएका यस्ता सचेतनामूलक कार्यक्रम समयको आवश्यकता भएको बताउनुभयो ।

उहाँले विद्यार्थीलाई कुलत, साइबर अपराध तथा ट्राफिक दुर्घटनाबाट जोगाउन विद्यालय, अभिभावक, समुदाय र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो।

राप्ती प्रेस मञ्चले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै जनचेतनामूलक अभियान सञ्चालन गरेको भन्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

कार्यक्रममा नार्कोनन नेपाल लुम्बिनी प्रदेशका संयोजक बसन्तबहादुर पुनले लागुऔषधका प्रकार, त्यसका स्वास्थ्य तथा सामाजिक असर र त्यसबाट बच्ने उपायबारे प्रशिक्षण दिनुभयो। उहाँले गलत संगत, जिज्ञासा र साथीभाइको दबाबका कारण किशोर–किशोरी लागुऔषधतर्फ आकर्षित हुने भएकाले सचेत रहन आग्रह गर्नुभयो।

त्यसैगरी इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी सहायक निरीक्षक यम विकले साइबर अपराध, अनलाइन ठगी तथा सामाजिक सञ्जालको सुरक्षित प्रयोगका विषयमा जानकारी दिनुभयो। उहाँले व्यक्तिगत विवरण सुरक्षित राख्न, शंकास्पद लिंक नखोल्न र डिजिटल माध्यमको जिम्मेवार प्रयोग गर्न विद्यार्थीलाई सुझाव दिनुभयो।

अस्थायी ट्राफिक प्रहरी पोस्ट भालुवाङका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक प्रेमप्रसाद पोख्रेलले ट्राफिक नियमको पालना, हेलमेट तथा सिटबेल्टको प्रयोग र सडक सुरक्षाबारे प्रशिक्षण दिनुभएको थियो। उहाँले साना लापरवाहीले पनि ठूला दुर्घटना निम्त्याउन सक्ने भएकाले ट्राफिक सचेतना आवश्यक रहेको बताउनुभयो।

मञ्चका अनुसार विद्यालयस्तरमा सञ्चालन भइरहेको यो अभियान आगामी दिनमा राप्ती गाउँपालिकाका अन्य विद्यालयहरूमा पनि विस्तार गरिनेछ। कार्यक्रममा १५० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो। मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन महासचिव ओमप्रकाश गुप्ताले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस