सरकार निरंकुशताको बाटोमा गएको प्रचण्डको आरोप, अध्यादेश र सुकुमबासी मुद्दामा आलोचना

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन शाह नेतृत्वको वर्तमान सरकार निरंकुशताको बाटोमा अघि बढेको आरोप लगाएका छन् ।

बिहीबार रुकुम पश्चिमको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ट्रेड युनियनदेखि विद्यार्थी संगठन खारेजी गर्ने प्रयास भइरहेको दाबी गरे । साथै, उनले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको विषयमा पनि असन्तुष्टि व्यक्त गरे ।

‘सदनलाई छलेर अध्यादेश ल्याउने र बोलाइसकेको अधिवेशन रोक्ने विधि लोकतन्त्रको विरुद्धमा छ,’ उनले भने, ‘यो संसदीय परम्पराको समेत विरुद्धमा छ, त्यसो नगर्न हामीले सरकारलाई सावधान गराएका छौँ । यस्तो अलोकतान्त्रिक विधि अपनाउनु संविधान विपरीत हो ।’

प्रचण्डले सुकुमबासीको समस्याबारे पनि सरकारको कदमप्रति आलोचना गरे। सुकुमबासीहरूको वैकल्पिक व्यवस्था नगरी बल प्रयोग गरेर वा डोजर चलाएर बस्ती हटाउने काम गलत भएको उनको टिप्पणी थियो ।

‘यदि सुकुमबासीहरू गलत तरिकाले अतिक्रमण गरेर बसेका छन् भने पनि उनीहरूको वास्तविक स्थिति बुझेर छानबिन गर्नुपर्छ,’ उनले भने, ‘तर, सरकारले हतास शैलीमा बल प्रयोग गर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस