काठमाडौँ । हाल देशमा पश्चिमी वायु, स्थानीय प्रणाली, तथा बङ्गालको खाडी र अरब सागरबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस प्रभावका कारण आज देशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहन सक्ने र बाँकी भूभागमा मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार दिउँसोका समयमा पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, हिमाली भेगका केही उच्च स्थानमा हल्का हिमपातसमेत हुनसक्ने उल्लेख गरिएको छ।
आज रातिको मौसमको पूर्वानुमान अनुसार पनि पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम सामान्यतः सफा रहनेछ तर एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपात हुनसक्ने सम्भावना कायम रहेको महाशाखाले जनाएको छ ।
सारांशमा, देशका अधिकांश भूभागमा आज मौसम खुला रहने अपेक्षा गरिएको छ भने पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस