दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आम जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न सक्दा मात्र प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा बुधवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले जनता नै सार्वभौमसत्ता सम्पन्न रहेको र सम्पूर्ण स्रोत जनतामै निहित रहने उल्लेख गरे ।
उनले भने, “जनता सार्वभौमसत्ता सम्पन्न हुन् र सम्पूर्ण स्रोत जनतामा निहित हुन्छ भन्ने मान्यताका आधारमा हाम्रो जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न सक्दा मात्र प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनेछ ।”
संघीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाटै निर्माण भएको उल्लेख गर्दै उनले सहिदहरूको सपना र जनताको आकांक्षालाई मूर्तरूप दिन वर्तमान शासन प्रणालीलाई सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धितर्फ केन्द्रित गर्न आवश्यक रहेको बताए ।
नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापनाका लागि भएका आन्दोलन तथा संघर्षमा सर्वोच्च बलिदान दिने अमर सहिदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री आचार्यले प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षहरूमा मार्गदर्शन प्रदान गर्ने अग्रजहरू प्रति उच्च सम्मान व्यक्त गरे ।
वि.सं. २००७ सालमा जहानियाँ निरङ्कुश राणा शासनविरुद्ध जनताको संघर्षले फागुन ७ गते ऐतिहासिक विजय हासिल गरेको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले यो दिवसको महत्व औंल्याए ।
जनताको एकताबद्ध सामर्थ्यले संसारका जस्तोसुकै निरंकुशतालाई पराजित गर्न सक्ने उल्लेख गर्दै उनले भने, “प्रजातन्त्र दिवसले सदा हक, अधिकार, मानव अधिकार तथा राजनीतिक स्वतन्त्रताको महत्व स्मरण गराउनेछ ।”
प्रतिक्रिया दिनुहोस