निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि बामपन्थी ध्रुवीकरण–महासचिव पोखरेल

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि बामपन्थी ध्रुवीकरण आवश्यक रहेको बताएका छन् ।

नेपाल प्रगतिशील प्राध्यापक संगठन महेन्द्र बहुमुखी क्याम्पस र नेपाल बुद्धिजीवी परिषद् दाङले आयोजना गरेको अन्तर्संम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भने, “मुलुकको समृद्धिका लागि बलियो निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्नु आवश्यक छ । यसका लागि बामपन्थी ध्रुवीकरण गर्नुपर्दछ । एमालेले बामपन्थी ध्रुवीकरणको मुद्दालाई प्राथमिकतामा रोखको छ ।”

इतिहासलाई शिक्षाका रुपमा लिँदै भविष्यको यात्रा तय गर्नुपर्ने भन्दै महासचिव पोखरेलले नेतृत्वका बिचमा भएको ध्रुवीकरण असफल भएकाले अब कार्यकर्ताको माध्यमबाट बामपन्थी ध्रुवीकरण गर्ने एमालेको तयारी रहेको बताए ।

“कम्युनिष्ट जनमतको कदर गरेर २०७४ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्रका बीचमा गरिएको एकता असफल भएकाले अब नेतृत्वको माध्यमबाट नभई कार्यकर्ताको माध्यमबाट बामपन्थी ध्रुवीकरण गर्नुपर्ने मान्यता हामीले अगाडि सारेका छौं”, महासचिव पोखरेलले भने ।

फरक प्रसंगमा बोल्दै महासचिव पोखरेलले बिआरआई सम्झौताबाट नौलो मान्यता स्थापित गरिएको दाबी गरे ।

“बिआरआई सम्झौताको ड्राफ्ट नेपाली काङ्ग्रेस र एमालेको सहमतिमा गरिएको हो । नेपालको इतिहासमै पहिलोपल्ट नेपाल आफैले तयार पारेको सम्झौतामा हस्ताक्षर भएको छ”, महासचिव पोखरेलले भने, “प्रमुख पार्टी मिल्दा हरेक कुरा सम्भव हुँदो रहेछ भन्ने प्रमाणित भएको छ । मुुलुकको समृद्धि र स्थायित्वका लागि गठन भएको सरकार निश्चित् उद्देश्य पुरा गर्नतर्फ अग्रसर छ ।”

संविधान संशोधन सम्बन्धि प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक अभिव्यक्तिलाई लिएर आएका टिप्पणीप्रति लक्षित हुँदै महासचिव पोखरेलले भने, “संविधान संशोधनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभामा दुई तिहाइ बहुमत आवश्यक पर्ने र हाल उक्त जनमत दुवै सदनमा प्रयाप्त नहुँदासम्म संविधान संशोधनको मुद्दाले सार्थकता नपाउने सत्ता साझेदार दुवै दलका बीचमा छलफल भइरहेको छ । वर्तमान गठबन्धन यथावत रहेमा २०८७ सम्म राष्ट्रिय सभामा दुई तिहाइ बहुमत पुग्छ अनि संविधान संशोधनको विषयलाई टुंग्याउने सन्दर्भमा पार्टी अध्यक्षको अभिव्यक्ति आएको हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस