दाङ । लमही नगरपालिका–५ लमहीस्थित जैविक विविधता ग्रीनपार्कमा घुम्न आउने पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
ग्रीनपार्कमा लमही नगरपालिका र अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले विभिन्न संरचना निर्माण गरेपछि शैक्षिक अवलोकन भ्रमणसहित मनोरम दृश्यावलोकन गर्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।
पार्कमा दैनिक सैयौँ पर्यटक आउन थालेका छन् । वनभोज गर्न तथा अन्य जिल्लाबाट घुम्न आउने पर्यटकले पार्क भरिभराउ हुने गरेको छ । हरेक वर्ष यो मौसममा पर्यटकको संख्या उल्लेख्य रूपमा बढ्ने गरेको छ । पार्कले कार्तिक १५ गतेसम्म ११ हजार पर्यटक भित्र्याएको छ, भने सबैभन्दा बढी कार्तिक १६ गते १ हजार ५ सय र कार्तिक २३ गते १ हजार ७ सय पर्यटकले अवलोकन गरेका छन् ।
शान्त वातावरणमा रमाउने आकर्षण
अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले दैनिक पर्यटकको आगमन बाक्लिदै गएको जानकारी दिनु भयो । “पिकनिक खाने, फोटो खिच्ने र शान्त वातावरणमा रमाउनेहरू यहाँ आउने गरेका छन्”, अध्यक्ष रिजालले भन्नु भयो । उहाँका अनुसार लुम्बिनी प्रदेशका साथै अन्य विभिन्न जिल्लाका पर्यटकले पार्कमा पुगेर रमाउने गरेका छन् ।
पार्कका आकर्षण र पूर्वाधार विकास
लमही बजार नजिकै रहेको ग्रीनपार्क लौटिया सोताको छेउमा अवस्थित छ । पार्कमा वन–जङ्गल क्षेत्र, नर्सरी र बगैँचाले विशिष्ट वातावरण सिर्जना गरेको छ । शान्त वातावरण, सुसज्जित लन र मौसमी–बेमौसमी फूलहरूले पार्कलाई थप आकर्षक बनाएका छन् ।
पार्कमा पुष्प बगैँचा, ढुङ्गे बगैँचा, बोटानिकल रिसर्च सेन्टर, चिल्ड्रेन पार्क र भ्युटावर निर्माण गरिएको छ । यी संरचनाले पर्यटक आकर्षित गर्ने उद्देश्य राखिएको स्थानीय सरकारले जनाएको छ । सामुदायिक वनका अध्यक्षका अनुसार ग्रीनपार्कमा पर्यटन विकासका लागि अझै धेरै संरचना निर्माण गर्न आवश्यक छ ।
पार्क क्षेत्रमा निर्माण गरिएका संरचना कुहिनु, भत्किनु र जीर्ण हुँदै गएकाले मर्मतका लागि हरेक वर्ष लाखौँ रुपैयाँ खर्च हुने गरेको छ । पार्कको संरक्षणमा पालिका र स्थानीय बासिन्दाको थप योगदान आवश्यक रहेको सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष रवि श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “बजेट अभावका कारण सामुदायिक वनले सक्दो प्रयास गरिरहेको छ । यो पार्क देशकै पहिचान बन्न सक्छ । संरक्षणका लागि स्थानीयको सहयोग र सरकारको विशेष लगानी अपरिहार्य छ ।”
पार्कमा घेराबारको अभावले गर्दा रातको समयमा केही पर्यटक अवैध रूपमा प्रवेश गर्नाले संरक्षणमा चुनौती थपिएको उहाँले जानकारी दिनु भयो । यसका लागि सामुदायिक सहभागीता र प्रभावकारी नीति आवश्यक रहेको सम्बन्धित पक्षले जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस