काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीहरूको एकतालाई चाँडै टुङ्गोमा पुर्याउने बताउनु भएकाे छ ।
चितवनको भरतपुर–१३ मा माओवादीका बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणका लागि आयोजित जनसांस्कृतिक कार्यक्रम सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएकाे हाे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले एउटै ‘स्कुलिङ’बाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरू एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको बताउनु भयाे ।
आफूहरू शान्ति–सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरूको गणतन्त्र बनाउने भन्ने विषयमा कुनै विन्दुमा पुगेर सङ्घर्ष हुन्छ भन्ने विश्लेषण गरिएको उल्लेख गर्दै उहाँले अब त्यो विन्दु आएको बताउनु भयाे ।
अध्यक्ष प्रचण्डले आम जनतालाई एकताबद्ध गराउँदै समाजवादी क्रान्ति पूरा गर्ने पनि बताउनु भयाे । उहाँले पछिल्लोपटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन गर्ने, जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा गर्ने र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउनेलगायतका ऐतिहासिक काम गरिएको उल्लेख गर्दै सहिद र योद्धाको स्मरणमा विभिन्न प्रतिष्ठानहरू बनाएर अघि बढ्ने बताउनु भयाे।
प्रतिक्रिया दिनुहोस