ठूलो मात्रामा चरेश र अफिम सहित तीन जना पक्राउ

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ । प्रहरीले घोराही उपमहानगरपालिका वडानम्वर–१८ मसिनामा ठूलो परिमाणमा लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा गरिएको प्रहरी कारबाहीमा अफिम र चरेशसहित तीनजनालाई नियन्त्रणमा लिइएको हो ।जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुनप्रसाद तिमल्सिनाका अनुसार पक्राउ पर्नेहरूमा रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका वडानम्वर–४ निवासी ३७ वर्षिय सुविन्द्र पुन, पुथाउत्तरगंगा गाउँपालिका वडानम्वर बस्ने ५१ वर्षिय चेतन बुढा र रुकुम पूर्व भुमे गाउँपालिका घर भई हाल घोराही उपमहानगरपालिका वडानम्वर–१८ मसिना बस्ने ४२ वर्षिया बिनी पुन रहनु भएकाे छ ।

प्रहरी टोलीले पुन र बुढालाई मसिनास्थित सडकमा शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा अफिम बरामद गरेको थियो । उहाँहरूलाई सोधपुछ गर्दा लागुऔषध बिनी पुनबाट खरिद गरेको बताएपछि प्रहरीले बिनी पुनको डेरामा छापा मार्दा ठूलो परिमाणमा चरेश र अफिम फेला परेको थियो ।

प्रहरीले ३८ किलो ९ सय ७२ ग्राम चरेश, ११ किलो १ सय ८० ग्राम अफिम, लागुऔषध तौल गर्ने डिजिटल तराजु, प्याकिङमा प्रयोग गरिएका प्लाष्टिक र टेप बरामद गरेको छ । तीनै जनालाई पक्राउ गरी दाङ प्रहरीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

पक्राउ परेका तीनै जनालाई प्रहरीले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रमुख अर्जुनप्रसाद तिमिल्सिना घटनाको बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिनु भयाे । ‘‘हामीले लागुऔषधको नियन्त्रणका लागि तीब्र ढंगले अनुसन्धान गरिरहेका छौं’’, उहाँले भन्नु भयाे, ‘‘थप अनुसन्धानपछि यसको बारेमा विस्तृत विरणहरु आउने छन् ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस