देशभर मनसुनी वायुको प्रभाव हुँदा विभिन्न स्थानमा वर्षा

दाङ। आजका देशका विभिन्न स्थानमा मौसममा बदली रही सामान्यदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही सामान्यदेखि भारी वर्षा हुने महाशाखाको बिहान ६ बजेको बुलेटिनमा उल्लेख गरिएको छ ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश थोरै स्थानहरूमा मेघ गर्जन (चट्याङ्ग) सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा दक्षिण पूर्व बङ्गलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आज राती देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी , मधेश , बागमती , गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन (चट्याङ्ग) सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन (चट्याङ्ग) सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी र गण्डकीका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस