बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या २०९ पुग्यो

गृहमन्त्रालयका अनुसार अझै २९ जना बेपत्ता छन्, भने १४२ जना घाइते भएका छन्

दाङ । लगातारको वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २०९ जनाको पुगेको छ । गृहमन्त्रालयका अनुसार अझै २९ जना बेपत्ता छन्, भने १४२ जना घाइते भएका छन् ।

मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले खोज तथा उद्धारको कार्य जारी रहेको छ । नेपाली सेनाको हेलिकप्टरबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, ललितपुरलगायतका स्थानबाट घाइते, बिरामी तथा अलपत्र परेका ४२५ जनाको उद्धार गरिएको जानकारी दिनु भयो ।

यस्तै अवरुद्ध सडक, विद्युत्, टेलिफोन लगायतका अत्यावश्यक सेवाहरू शीघ्र सुचारु गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरिएको पनि उहाँले बताउनु भयो । खोज तथा उद्धारको कार्यलाई आवश्यकताअनुसार सुरक्षा निकायहरूबाट निरन्तरता दिइएको बताउँदै मन्त्रालयले संयुक्त राष्ट्रसङ्घीय निकायहरू र लजिष्टिक क्लष्टरका साझेदार संस्थाहरुसँग बैठक गरी राहत सामग्रीहरुको स्टक लिने र वितरणका लागि नक्साङ्कन गर्ने कार्य भइरहेको समेत जनाएको छ ।

सुरक्षा निकाय र सडक विभागसँगको समन्वयमा अवरुद्ध राजमार्गहरू सुचारु गर्ने, तत्काल सुचारु गर्न नसकिने सडकको हकमा वैकल्पिक मार्ग व्यवस्थापन गरी सवारी आवागमन सहज बनाउने कार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस