साहित्यको सैद्धान्तिक व्याख्या

नवीन अभिलाषी/वैचारिक लेखन तथा प्राध्यापन क्षेत्रमा क्रियाशील टीकाबहादुर बस्नेतले ‘माक्र्सवाद र उत्तर आधुनिकतावाद’ मार्फत् नेपाली साहित्य समाजले हाल खेपिरहेको वैचारिक रिक्तता र शून्यताको तलाउमा ढुङ्गा फ्याँकेका छन् । वैचारिक रुपमा शिथिल र दिग्भ्रमित देखिने नेपाली साहित्यका जटिल मोडहरु पहिल्याउँदै प्रगतिशील लेखनलाई नै अन्तिम निष्कर्षमा पु¥याएका छन् । माक्र्सवादी दृष्टि चेतनाबाट नेपाली साहित्यको साङ्गोपाङ्ग विश्लेषण गरिएको यो पुस्तकले नेपाली समाज र साहित्यको सैद्धान्तिक मनोदशालाई माक्र्सवाद र उत्तर आधुनिकतावादको तराजुमा अध्ययन गरिएको छ ।

मूलतः दर्शन र समालोचना गरी दुई विधामा नेपाली समाज र साहित्यको व्याख्या गरिएको छ । दर्शनको प्रारम्भिक ज्ञान, माक्र्सवाद र उत्तरआधुनिकतावादबारे गहन विमर्शका साथै दर्शन र राजनीतिक पारिभाषिक शब्दहरुको संक्षिप्त विश्लेषण दर्शन खण्डका अध्यायहरु हुन् । समालोचनाअन्तर्गत मुलतः नेपाली राजनीतिक परिवर्तनमा प्रगतिवादी कविताको भूमिकाको खोज महत्त्वपूर्ण छ, भने प्रगतिवादी कवि नेत्रलाल अभागीको कविता यात्रा र प्रवृत्तिको गहन विश्लेषण र प्रगतिवादी नेपाली कवितामा ध्वनिको खोज निकै सान्दर्भिक अध्यायहरु हुन् ।

जीवन र जगत्लाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने दृष्टिकोण दर्शन हो । सोहीअनुरुप धारणा निर्माण र जीवन व्यवहारलाई निर्धारण गर्न दर्शनले भूमिका खेल्छ । जगतमा आदर्शवाद र भौतिकवाद यी दुई दार्शनिक सिद्धान्तमाथि लम्वेतान विमर्श जारी छ । विश्व ब्रम्हाण्ड ईश्वर, परमात्मा वा अदृश्य शक्तिबाट पैदा भएको चेतना वा आत्मालाई सृष्टिको आदितत्त्व मान्ने र संसारलाई अपरम्पार र अबोधगम्य ठान्ने दर्शन आध्यात्मवाद हो भने, पदार्थलाई सृष्टिको आदिम रुप र चेतनालाई पदार्थको विशिष्ट गुण मान्ने दर्शन भौतिकवाद हो । यसले संसारलाई बुझ्न, विश्लेषण गर्न र रुपान्तरण अर्थात् बदल्न सकिन्छ, भन्छ ।

आदिम साम्यवादी समाजको अन्त्य र दासयुगको आरम्भपछि पक्षधरता निर्माण भयो । वर्गीय भेदले निर्माण गरेको सर्वहारा वर्गको क्रान्तिमार्फत् वैज्ञानिक समाजवाद निर्माण गर्न सकिन्छ, भन्ने दृष्टिकोण नै माक्र्सवादी दर्शन हो । यसले उत्पादनमाथिको वैयक्तिक अधिकारको निषेध गर्छ । श्रमजीवी, सर्वहारालाई क्रान्तिका माध्यमबाट मुक्ति र स्वतन्त्रता प्राप्त एवं सत्ता निर्माण गर्न सकिन्छ भन्ने मान्यता राख्छ । श्रम, उत्पादकत्त्व र आर्थिक विकासमा पुँजीवादको प्रभावको विश्लेषण गर्छ । माक्र्सवादले सामाजिक वर्गहरू बीचको संघर्ष र पुँजीवादी अर्थतन्त्रमा आर्थिक सम्बन्धको परिभाषा निर्माण गर्छ र साम्यवादको परिकल्पना गर्छ ।

पुँजीवादले उत्तर पुँजीवादमा प्रवेश पाएपछिको जुनस्वरुप निर्माण हुन्छ, त्यसलाई उत्तरआधुनिकतावाद भनेर बुझिन्छ । यसलाई हजारौं परिभाषामा परिभाषित गर्न खोजिए पनि उत्तरआधुनिकतावाद मूलरुपमा आधुनिकतावादको विरुद्ध विकास भएको मान्यता हो । यसको परिभाषामा विद्वानहरुबीच मतैक्यता पाइदैन, कतिले यसलाई माक्र्सवादकै सामान्तर वादका रुपमा व्याख्या गरेको पनि पाइन्छ । तर, लेखकले पुस्तकमा पर्याप्त तर्क र तथ्यसहित माक्र्सवाद र उत्तरआधुनिकतावाद विपरित सिद्धान्त भएको पुष्टि गरेका छन् । नित्सेको ईश्वर मृत्युको घोषणासँगै निरासावादी दृष्टिकोणको पृष्ठभूमिबाट आरम्भ भएको यो सिद्धान्त ज्याक डेरिडाको भ्रम, भिन्नता र विखण्डनको सिद्धान्तले मौलाउने मैदान दियो । ल्योतार्डको महाख्यानको अन्त्यको घोषणासम्म आइपुग्दा यो क्वाँटी सिद्धान्तमा परिणत भैसकेको थियो । हाल उत्तरआधुनिकतावाद सूचना सञ्जाल निर्माण गर्दै विश्वव्यापि छ । घरघरमा भित्रिएको छ । यसले विशेषगरी सहरी समाजका प्रायः सबै क्षेत्रलाई स्पर्श गरेको छ ।

नेपालमा उत्तरआधुनिकतावादमाथि विमर्शको शिलशिला त्यति लामो पाइदैन । नेपालमा उत्तरआधुनिकतावादको खास बहस दर्शन र साहित्यको क्षेत्रमा बढी हुने गरेको पाइन्छ । साहित्यमा यसको प्रभाव बलियो बन्दै गए पनि यसप्रति समालोचनात्मक दृष्टिकोणबाट प्रसस्त अध्ययन हुन बाँकी नै छ । कवि, लेखक, कलाकारहरुले सिर्जनामा सामाजिक यथार्थ बोध निर्माण गर्न नसकेर भावनात्मक चिन्तनमा अलमल गर्नु, चरम निराशा, आत्मपरकता एवं कुण्ठाग्रस्त अभिव्यक्तिहरुलाई लेखनका माध्यमबाट व्यक्त गर्न खोज्नु उत्तरआधुनिकतावादलाई स्पष्ट प्रश्रय दिनु हो । लेखक कलाकारहरु प्रगतिशील मूल्य मान्यता, विचारधाराबाट विचलित हुनुको मूल कारण उत्तरआधुनिकतातर्फको आकर्षण प्रमुख मानिन्छ । आज प्रगतिशील विचारधारा अँगालेर कलम चलाउने लेखकहरुले समाज र सिद्धान्तको मृत्युको परिकल्पना गर्दै साहित्य निर्माण गरेका उदाहरण छन् । लेखनमा निर्वाध स्वतन्त्रता र विधागत अस्पष्टतामा निर्माण भएको साहित्य अकविता, अनाटक, अउपन्यासले क्रमशः मूल्य गुमाउँछ । सार्वभौम अस्तित्वको निरन्तर विखण्डन र विघटनमार्फत् यसको अस्तित्व नै सामान्यीकरण गर्ने वैचारिकता नै आजको नेपाली साहित्यले भोगिरहेको उत्तरआधुनिकतावादको कुरुपता हो । विधा सिद्धान्तको अस्वीकृति, सत्यको बहिष्कार, अर्थहीनता, प्रयोगगत नवीनता, अर्थगत बहुलता, पतनको सन्दर्भबाट साहित्यलाई हेर्ने दृष्टिकोणलगायतका विशेषतासहित नेपाली साहित्यमा यसले सैद्धान्तिक आधार निर्माण गरिसकेको पाइन्छ ।

माक्र्सवाद र उत्तरआधुनिकतावादको संक्षिप्त विश्लेषण गरेको पुस्तकले सम्पूर्ण तर्क र तथ्यगत पूर्णता हासिल गरेको छ । माक्र्सवादी विचारधाराको अध्ययन, वहस र प्रयोग गर्ने नवपाठकका लागि यो पुस्तक छनौट बन्न सक्छ । तर, यसले आधुनिकतावादको व्याख्या नगरी सिधै उत्तरआधुनिकतावादको विश्लेषण गर्छ । समाजसँगको अन्र्तसम्बन्ध र विपरितार्थ पृष्ठभूमिको अभाव छ । उत्तरआधुनिकतावादबारे वहस गर्दा उत्तर उपनिवेशवाद, उत्तरसंरचनावाद र भूमण्डलीकरणको चर्चा नगरी यसको कोर्ष पुरा हुँदैन । तर, यो किताब संक्षिप्त भएका कारण माक्र्सवाद र उत्तरआधुनिकतावादका सहायक तर, अन्य गम्भीर विषयमा प्रवेश गरेको छैन । समग्र पाटाहरुको उत्खनन् गर्न भ्याएको छैन । नत्र राजनीतिक निराशाको अभिव्यक्तिका रुपमा काम गर्दै आएको उत्तर आधुनिकतावादले माक्र्सवादको विरोध गर्नुलाई प्राथमितामा राख्छ । पुँजीवादी र साम्राज्यवादी अर्थतन्त्रलाई सुदृढ बनाउन नवउदारवादी आदर्शको रुप निर्माण गर्छ । यसले नेपाल जस्ता मौलिक सिद्धान्तमा आधारिक संस्कृतिलाई क्षतविक्षत बनाउन सांस्कृतिक साम्राज्यवादको उपकरणको रुपमा काम गर्ने गर्दछ ।

नेपाली कविता लेखनमा माक्र्सवादी चिन्तनको प्रयोग र यसको विकाशक्रममा उत्तरआधुनिकतावादको प्रवेश पुष्टि गर्न नेपाली राजनीतिक परिवर्तनमा प्रगतिवादी कविताको भूमिका अध्यायले मद्दत गरेको छ । राजनीतिक परिवर्तनसँगसँगै आर्थिक विकास, श्रमजीवी, मजदुरको वर्गचेत निर्माण र उत्पीडितको मुक्तिका लागि नेपाली कविताले ठीक ठीक कालखण्डमा बलिया सिर्जनाले काम गरेका छन् । नेपाली समाज रुपान्तरणमा प्रगतिवादी धारा नै मुलधाराको रुपमा पुस्तकले व्याख्या मात्र गरेको छैन, त्यसलाई पुष्टि गर्ने आधारहरु प्रस्तुत गरेको छ । प्रगतिवादी कवि नेत्रलाल अभागीका कविता यात्रा र प्रवृत्तिले त्यसको पुष्टि गर्ने सामथ्र्य राख्छ । राजनीतिक तथा सामाजिक रुपान्तरणमा प्रगतिवादी कविताको हैसियत मापन गर्दा अभागीका कविताको सामथ्र्य जाँच गरे पुग्छ । लेखकले मूलतः अभागीको दुई कृति ‘सतिसाल मात्र ठिङ्ग उभिन सक्छ’ (२०४२) र ‘वर्गप्रेम’ (२०६२) माथि विश्लेषण गरेका छन् । वर्गीय समाजमा विचार पनि वर्गीय हुन्छ । भावनात्मक अभिव्यक्तिको अन्तर्राष्ट्रिय मूल्यमा सर्वहाराको दृष्टिचेतनाले हेरिएका अभागीका कविताले वैश्विकरुपमा आह्वान गरेका तर्कहरु केलाइएका छन् । कवितामा वर्गमित्र र शहीदप्रतिको असिम श्रद्धा, वर्गप्रेम र आशावादी स्वरसहित क्रान्तिको उद्घोषको सपाट विश्लेषण छ, भने वर्ग विचलनप्रति कवितामा व्यक्त तिब्र घृणाका हरफहरु छुट्याइका छन् । अभागीका कविता मुलुक परिवर्तनका अस्त्र थिए । राजनीतिक अनुशासनका शास्त्र थिए । अभागीका संग्रहले निर्माण गरेको निश्कर्षलाई लेखकले वर्ग पक्षधरता, वर्ग प्रतिवद्धता र वर्गसंघर्ष भनेका छन् ।

वर्तमान कम्युनिष्ट आन्दोलनभित्रका राजनीति, कला साहित्य र संस्कृतिका मूल्यहरु निरन्तर विघटनको संघारमा छन् । दलित, आदिवासी, महिला तथा सिमान्तकृत क्षेत्र र समुदायहरु वैचारिक अभाव भोगिरहेका छन् । अनेक संघर्षबाट निर्माण भएको आजको समाज किन सैद्धान्तिक रुपमा दिग्भ्रमित छ ? हरेक दशपन्ध्र वर्षमा लड्दै आएको वर्ग किन नेतृत्वविहिन छ ? जीवनशैलीले उत्तरआधुनिकतावादलाई अंंगाल्ने तर फगत अभिव्यक्तिमा खरो प्रगतिशील र क्रान्तिकारी देखिने मनोविज्ञान नै आजको मूल्य नष्टिकरणको मार्ग हो । आजको लडाई के हो भने उत्तरआधुनिकतावादलाई परास्त गर्दै प्रगतिशील विचारधाराको लेखन, चिन्तन र निरन्तर अभ्यास हो । कुनै पनि आन्दोलनले वैचारिक मार्ग निर्माण गर्न सकेन भने प्राप्त उपलब्धिको विघटन निश्चित प्रायः हुन्छ । माक्र्सवादको वैज्ञानिक सान्दर्भिकताबाट अल्मलिएर उत्तरआधुनिकतावादको अवैज्ञानिक मान्यतामा प्रवेश गरेको नेपाली साहित्यको व्याख्या हो–‘माक्र्सवाद र उत्तरआधुनिकतावाद’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस