श्रीओम श्रेष्ठ रोदन/सुखी सपना र दुःखी विपना । अयथार्थ र यथार्थ । सपना किन सुखमय हुन्छ बढी ? पूर्णतामा सहाराको आवश्यकता छैन र हुँदैन पनि । विपना दुखमय हुने भोगिएर नै होला । दुःख भनेको कल्पना गर्न नसकिने जस्तोसुकै अप्ठोरो आइपर्दा पनि सहनसक्नेको नाम हो । अकल्पनीय कुराको प्राप्ति र सन्तुष्टिलाई सहज स्वीकार गर्नसकिने सुख । दुबै महसुसका कुरा हुन् भन्ने लाग्नथालेको छ मलाई ।
हामी निरन्तरताका उपज हौं, क्रमशः पूर्वजहरूसँग सन्निकट छौं । समूहको पर्खालभित्र सम्बद्ध भएका छौं सदा । एक्लो वृहस्पति साँचो ठहर्दैन । वैदिककालीन ऐन हो यो । कुरो मीठो सपनाको नै हो । विपनामा पूर्ण गर्न असमर्थ निराशाको हो सरल उपाय । तर गर्ने के ? सपनाकै दृष्टिले समय रङ्गीन हुने भए पो ?
तिलस्मी कथाका भँवराझैँ लीन हुनासाथ फूलसँग राक्षसको मृत्यु हुने वर्तमान कतै प्रदर्शनी बन्नसकेको छैन । अल्पायु र अस्थिरताको के महत्त्व ? पानीका फोकाझैँ हरेक सपनालाई सार्थकता दिने मेरो मत र नारा होइन । असम्भवमा सम्भावनाको गोरेटो खन्नु निरर्थक पसिना मात्र तपतप भएजस्तै । योग्य लडाकाहरूका डफ्फालाई अयोग्य नेतृत्व हुँदाको जस्तो । यात्रुवाहक विमानमा सिकारुले आकाश चहार्दा हुने भयावहको स्थिति भएजस्तै । सपनालाई यथार्थमा परिवर्तन गर्नेमा धेरैधेरै समानता नै छ । हिजोअस्तिका लोककथाहरू वर्तमानजस्तो र वर्तमान सपनाजस्तो बनाउने देवीदेवताहरूका पनि इच्छाका हैनन् ।
त्यसै पनि घुम्ने मेचले मान्छेलाई अन्धो बनाउँछ । कुरा चर्म चक्षुको हैन, मात्र दिव्यचक्षुको । भूपीको आशय पनि हो यही । उनको कथन उनी गएर पनि साथ लान सकेनन् । सत्यता यही हो, उनीभन्दा असल उनको विचार सार्वजनिक बन्नसक्यो । विचार बलवान बनाउने चाहना छ र घुम्ने मेचचाहिँ मन तनको डर बनेको छ । यो समय हो । विचार र व्यक्तिलाई कसैले एकैसाथ डो¥याउँछ । दुईमध्ये जुन गह्राँै हुन्छ, त्यही स्थिर बन्छ ।
पीडाको पोखरीका स्नान गर्नु र मृत्युपूर्व पीडा नियन्त्रण गरी शोक मनाउनु पृथक् मान्यता हुन् । यसको अनुभूति रङ्गीन हुन सक्दैन । भत्किएको प्रहरहरूमा जसरी मुस्कानको सङ्गीत गौण बन्छ, त्यसरी आँसुका रागहरू मृत्यु बन्छन् । कलेजाका ओसहरूमा अट्टहालिका सन्चारित हुन्छ । इन्द्रेणीले माला गाँस्दा धुनहरू विरह बन्नुपर्ने कुनै बाध्यता छैन । स्मृति अद्यापि वयस्क भई धेरै स्मृतिहरूका खप्टाइमा पनि लुप्त बन्नसकेका छैनन् । स्मृतिहरू कलिला भए पनि मेटिन नसकिने डोबहरू बन्छन् । त्यतिबेला डन्डीबियो र तेलकासा कम रमाइला खेल बन्दैन थिए । स्कुलमा मास्टरसाबलाई सन्चो नभएको बहाना विश्वासिलो बनाएर भाग्दाको रमाइलो कहाँ अरु हुनसक्छ र ? स्कुल समयमा नदीमा पौडी खेलेका पलहहरू । किताबलाई ढाडमा घुसारेर आलुबखडा चोर्न जाँदा तारमा अडकेर कमिज च्यातिँदाको डर । घन्टाकर्णको दिन बाटोमा डोरी तानेर दान लिने र भाग लगाएको पैसा कम मीठा हुन्थ्यो र ? नभन्दा पनि नमान्ने । अलिनो स्वादको भोजनजस्तो ।
सपनाको धनुवाणले एउटै पूmल झार्न सकिँदैन । बन्दुक तेर्साएर नदीले बग्न छोडेको छ र ? फूलमा झैं जीवन्तता सपनाको खोकिलामा अट्किन सक्दैन । अपाङ्गता भएको आँखाको प्रदुषित मनस्थितिले आकाशमा कतै स्वच्छ दृष्टि राख्न सकिन्छ र । समयले आङ उघारेको बेला सडकबालकजस्तो प्रमाणित हुन्छन् सबै । यो प्रकृतिसँगको गुनासो होइन र हुने पनि छैन ।
डलर उमार्ने खेती गर्ने कृषकहरूसँग पनि । बरू सन्तोष नै मानौं । मोटोखस्रो जे भए पनि कम्तीमा भोकाएर सिलावरका थालहरू थाप्नु त परेको छैन । चिन्ताहीन, समस्याहीन भएर दालभात डुकुमा साँझबिहान गुजारेकै छन् । अर्थमेट्रिक वा अल्जेब्राको सूत्र मिल्यो कि मिलेन ? यो प्रश्न हो तर समस्या नै चाहिँ होइन कि ? अर्को शङ्का । सिँचाइले खेत बढी सिञ्चित भयो कि खेती गर्ने कृषकहरू । सरल उत्तर भए पनि जटिल र अनुसन्धान आवश्यक प्रश्न बनेको छ ।
म त भन्छु, यो हाम्रो परम्परा हो, संस्कृति हो । हाम्रा पूर्वजनहरूले धर्मका नाममा स्वीकारेका र हामीले क्रमशः अनुकरण गर्दै आएका । कसैको नाममा समर्पण गर्नु र शोकचाहिँ आपैm गर्नु । बात पनि नलाग्ने र लाज पनि मान्नुनपर्ने । आफ्नो नाममा आफैले गर्ने भए पो ? अर्काको नाममा सुख र मनोरञ्जन लिने वेदकालीन परम्परा हुन् । महान् राजनीतिज्ञ हुन्, ती त्यस्ता सिद्धान्तका प्रार्दुभाव गर्नेहरू । साँप पनि नमर्ने र लाठी पनि नभाँचिने ।
बोराको झोलामा मखमलीको बगली । थाहा पाउने पनि दङ्ग, उपकारको प्रदर्शन । दिनेहरू झन् आश्चर्यमा । सुत्रधारचाहिँ सबैतिर सन्तुष्टिको इन्द्रजालको प्रचार र प्रदर्शनीमा प्रफुल्ल । यो प्रफुल्ल कात्रोजस्तो हो । मसानमा लास पोलेर मान्छेको अस्तित्वबाट पूर्ण भयोे भन्ने र मान्छेको पेट भर्ने उपाय मात्र हो यो । स्वास्नीलाई घाँटीमा पोते, ओठमा मिठो हाँसो मात्र रात्रि सौन्दर्यका लागि । छोराछोरीका कापी र कलमका लागि मान्छे पोल्ने पेसामा बरू इमान्दारिता देख्छु ।
यी त–छिः छिः छिः, कति घीनलाग्दा काला करतुतहरू । हत्केलाले सूर्य छोपेर मुस्कुराउने कुटिल हँसमुखेहरू । भ्रममा नपरोस्, यो अङ्गुर अमिलो छ भन्ने उखानसँग अलिकति पनि तादम्य राख्दैन । यो पनि संस्कार हो हाम्रो ? देखे जति राम्रो, नभेटेपछि नराम्रो । यसप्रति सरोकार प्रत्यक्ष–अप्रत्यक्ष कुनै रूपमा पनि छैन । भन्नु यति हो कि चन्द्रमामा ग्रहण लाग्दाजस्तो अपवित्र ठहरिन्छ । त्यसरी नै मान्छेको मनमा ग्रहणको टीका लागेको पित्त फुटेको झोलजस्तो । मेरो सार्वजनिक र अभीष्ट हो यो । बोरामा कास्मिराले टालेको सुहाउँदैन, बोरालाई बोरा नै चाहिन्छ । अब बढी खोतलेर निफन्नु नपर्ला ।
नौ दिन टाढा भए नौलो लाग्ने र बीस दिन टाढा भए बिर्सिने । यो लोकोक्ति प्रमाणित होस् नहोस् । मलाई चाहिने कुरा होइन । त्यसैले चलेको होला, माया र मृत्यु एकै हुन् । एउटै मोहरका दुईपाटा–यता पल्टाए माया उता पल्टाए मृत्यु । होजस्तो र होइनजस्तो पनि । कुन बढी र कुन घटी भन्ने तराजु त्यतिबेला देखिन्छ, जतिबेला उद्वेलित वा विचलित भएको हुन्छ । यस्ता तथ्यहरू समय सन्दर्भ अनुकुल सामयिक बन्ने कुरा कसले चलाएका होलान् ?
सुनिएकै हो नि, कहाँ बज्छ मादल कहाँ नाच्छे मारूनी ? रिमोट कन्ट्रोलझैँ । एकातिर थिच्यो अर्कोतिर असर । एक ठाउँको क्रिया–प्रतिक्रिया अर्को स्थान । भूमिगत कार्य प्रायः यस्तै हुन्छन् रे ? यु.जी. अर्थात् अन्डरग्राउण्ड कार्य ।
देशमा धेरै कुरा यस्तैयस्तै हुने गरेका छन् । कुनै व्यवस्था परिवर्तनले कुनै सरकार र विचार परिवर्तनले रिमोट कन्ट्रोलरको कार्यमा कुनै अन्तर आउनसकेको छैन । हो, तौरतरिकामा भने परिवर्तन छ । मूलतत्व अपरिवर्तनशील छ । खोल भए पो फुकाल्न मिल्छ । प्रष्ट छ, विगत र वर्तमानमा कुनै दूरी छैन । वर्तमान र भविष्यमा पनि कुनै पृथकता नहोला नै । जहाँ इतिहास वर्तमान बन्छ र वर्तमान इतिहास बन्छ । त्यहाँ मादल र मारूनीबिनाको सङ्गम नै ताल र नृत्य हुन्छ । अनवरत निरन्तरताको प्रतीक हो यो ।
आँखाले दिएको र मनले दृढ गरेको यथार्थ हो । आत्मवृष्टिका लागि । प्रदर्शनीहरू यथार्थ हुने र नहुने प्रावधान मायामा हुन्छ । वकालतको धर्म र नदेख्नेहरुलाई दृष्टियुक्त बनाउनु र देख्नसक्नेलाई आँखामा पट्टी बाँधेर दृष्टिहीन घोषणा गर्नु पेशा हो । जसले जति तराजु गह्रौं बनाउनसक्यो । त्यो त्यति नै सफल । परिभाषा मिथ्या र सत्यको हो ।
धर्म र पापको व्याख्यानले सत्ययुगको अनुमान र आमन्त्रण वर्तमानका लागि सह्य हुनसक्दैन । बोल्नेको पीठो बिक्ने कुरा अहिलेको होइन । अहिलेको मौसम नै यस्तै छ । पाउनसके त्यो आप्mनो खोजिएकोलाई अँश बनाउनु र प्रतीक्षालाई प्राप्ति ठान्नु सार्वजनिक प्रतिष्ठाको परिचय बन्दैन । अनुमान र भाग्योदय चिट्ठाले सम्पन्न हुने कुरा हो र ? प्रचार र प्रदर्शनीले म आपूmलाई बाटीबाटी बुन्दथेँ । धोकापूर्ण आकर्षणमा विश्वासको मत दिनु क्षणिक आनन्द प्राप्तिको सागरमा पौडिनुजस्तै हो । मेरा कतिपय अनुभवहरू कमाइमा जम्मा भएका व्यालेन्स भएका छन् । आवश्यकता नहुन्जेल खाता बलियो देखिने । आवश्यकतामा प्रयोग गर्नखोजे सपनाबाट झैँ झस्काइखाने । यस्ता सपनाहरूले मेरा पैतलाहरू धेरै खिइएका छन् । समयहरू सस्ता बनेका छन् ।
विगतका खेर गएका पैतला र समयहरू सम्पति नै हुन् भन्ने पनि मेरो चित्त बुझाइ छ । अहिले म सदा खबरदारीमा छु । मेरो विश्वास हो, भविष्यलाई नाफा गराउने । लाभांशको मीठो स्वादहरू भोजन गर्ने । जेहोस्, यी बाँच्ने उपक्रमहरू हुन् । मेरा भनुँ घरैका र अझ नढाँटिकनभन्दा सबैका जीवनरथ यसरी नै गुड्दै छन् । नाटकजस्तो जीवन भार र जीवनजस्तो नाटक भएर, समयजस्तो हामी बाँचेर र हामीजस्तो समय तोकिएर । विगत होस् या वर्तमान । वर्तमान होस् या भविष्य नै । कुरो उही हो । जताबाट भने पनि उही हो कुरो ।
प्रतिक्रिया दिनुहोस