प्यालेस्टिनी भूमिबाट हट्ला त इजरायल ?

एजेन्सी । प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाबाट पारित भएको छ । यो प्रस्तावमा भने नेपाल तटस्थ बसेको थियो ।

प्यालेस्टाइनले गरेको उक्त प्रस्तावको पक्षमा रुस, चीन, फ्रान्स, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान, माल्दिभ्स सहित १२४ देश उभिएका थिए । अमेरिकासहित १४ देशले विपक्षमा मतदान गरे । संयुक्त राष्ट्रसंघका स्थायी सदस्यहरुमध्ये विपक्षमा उभिएको अमेरिकामात्र हो ।

नेपाल, भारत, बेलायतसहित ४३ देश भने कसैको पनि पक्ष–विपक्षमा नलागी तटस्थ बसेका थिए । नेपालले इजरायल र प्यालेस्टाइन दुवै देशलाई मान्यता दिएको छ । नेपालले यी दुवै देशको समस्या समाधानमा जोड दिँदै आएको छ ।

तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको पालामा नेपाल र इजरायलबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । यहुदी देश इजरायललाई मान्यता दिने नेपाल एसियाकै पहिलो देश थियो ।

नेपाली विद्यार्थीहरु कृषि विषय पढ्दै कमाउँदै गर्नका लागि इजरायल जाने गरेका छन् । यसै क्रममा गत ७ अक्टुबरमा प्यालेस्टिनी भूमिबाट इजरायलमा प्रवेश गरेका हमासका लडाकुहरुले आक्रमण गर्दा १० नेपालीसहित १ हजार २०० जनाको मृत्यु भएको थियो । नेपालका विपिन जोशी अहिलेसम्म पनि बेपत्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस